ठमाडौं – अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा अर्जेन्टिनाले जित निकाल्दै २८ वर्षपछि उपाधि जित्न सफल भयो । खेलमा परािजत हुँदा ब्राजिलका स्टार नेयमार निकै निराश भए ।
खेल सकिएपछि मेस्सी नेयमार भएको ठाउँमा पुगेर अँगालो हाले । अँगाले हालेर उनीहरुबीच केही बेर कुरा भयो । अहिले उनीहरुले अँगाले हालेर कुरा गरेको तस्बिर र भिडियो भाइरल बनेको छ ।

यस्तै नेता योगेश भट्टराईले मेस्सी र नेयमारले अँगालो हालेको तस्बिर शेयर गर्दै राजनीतिकर्मीले पनि सिक्नु पर्ने बताएका छन् ।
उनले लेखेका छन् – ‘प्रतिस्पर्धा र मित्रताको सँगम नै सांचो खेल हो । लजालु मेसी र चन्चले नियमार ! राजनीतिकर्मीले पनि सिक्दा हुने दुर्लभ फोटो !’
उक्त खेलमा अर्जेन्टिनालाई एन्जेल डी मारियाले गोल गरी उपाधि दिलाएका हुन् । उनले खेलको २२ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । डी मारियाको गोल नै निर्णायक बन्यो ।

