काठमाडौं – नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको छ ।
बैठकमा अदालतको आदेशले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने कल्पना बाहिरको अवस्था सिर्जना भएको ठहर गरिएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले एमालेले विधिको शासन मान्ने भएकाले फैसलालाई कार्यान्वयन गरिने बताए । यसबारे औपचारिक धारणा बनाउन मंगलबार पनि बैठक बसिने बताइएको छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीमबहादुर रावल,ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली लगायतको सहभागी रहेका थिए ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको छ ।
