काठमाडौं – स्पेनका खेलाडी पेड्री युरोपेली च्याम्पियनसिप २०२० मा उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रतियोगिताभर ६ खेल खेलेका पेड्रीले योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि जितेका हुन् । पेड्रीको टिम स्पेन सेमिफाइनलमा इटालीसँग पराजित भएको थियो ।

गए राति वेम्बली स्टेडियममा भएको खेलमा इटालीले इंग्ल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । उक्त खेलमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । टिमलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका २२ वर्षीय डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।
गए राति भएको खेलको निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरीमा सकिएपछि खेलमा समय थप गरिएको थियो । उक्त खेलको २ मिनेटमै इंग्ल्यान्डका लुक शले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ६७ औँ मिनेटमा इटालीका लियोनार्दो बुनिचीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा इटालीले जित निकाल्यो । इंग्ल्यान्डले लगातार ३ प्रहार गोल गर्न सकेन ।
