काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बिहीबार तेस्रो दिन हो । यही असार २९ गते मंगलबार प्रधानमन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका थिए ।
त्यस यता विभिन्न देशबाट नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई आइरहेको छ । काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरुबाट प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिइएको छ ।
तर, भारतीय समकक्षी नरेन्द्र मोदीले भने हालसम्म प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका छैनन् । पूर्ववर्ती ओली सरकार निकट रहेका भनिएका भारतीय प्रधानमन्त्री मोदीबाट देउवालाई बधाई नआउनुलाई कूटनीतिक क्षेत्रमा चासोसाथ हेरिएको छ ।
यसअघि २०७४ सालमा चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई भारतीय समकक्षी मोदीले टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका थिए । तर, तर, यसपटक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मात्रै देउवालाई बधाई दिएका छन् ।
तर, मोदीले आफ्नै परम्परालाई अस्वीकार गरेर प्रधानमन्त्री देउवालाई बधाई नदिनुमा विभिन्न कोणबाट हेरिन थालिएको छ । मोदीले फोनमार्फत मात्रै होइन सामाजिक सञ्जालमार्फत पनि देउवालाई बधाई तथा शुभकामना दिइएको छैन ।
भारतबाट मात्रै होइन चीनबाट पनि देउवालाई बधाई नआउनुले देउवा सरकारले कूटनीति चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । भारतीय प्रधानमन्त्री मोदी नेपालमा ओलीको निरन्तरता चाहन्थे भन्ने अनुमानलाई पनि अहिले पुष्टि गरेको केही कूटनीतिज्ञको तर्क छ । देउवासँग मोदी चिढिएको हो कि भन्ने धेरैले अनुमान लगाउन थालेका छन् ।
