काठमाडौं – सरकारले संसदका दुवै सदनको अधिवेशन आह्वान गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको थियो । मन्त्रिपरिषद् बैठकको सो सिफारिसमा राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुवै सदनको अधिवेशन आह्वान गरेको हो ।
विज्ञप्तिमा भनिएको छ – ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाइएको हो ।
