काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाउने बताएका छन् । आइतबार प्रतिनिधि सभामा आफूले राखेको ‘विश्वासतको मत दिइयोस्’ भन्ने प्रस्तावमाथि उठाइएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको ध्यान खोपमा केन्द्रीत रहने बताए ।
तर, खोपमा ध्यान दिने बताइरहँदा उनले सत्ता सम्हालेको एक साता पुग्न लाग्दा स्वास्थ्य मन्त्रालय अझै नेतृत्वविहीन अवस्थामा छ । खोप आयातदेखि व्यवस्थापन र अभियानलाई सशक्त, सहज बनाउने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख भूमिका रहन्छ ।
तर, प्रधानमन्त्री देउवालाई विश्वासको मत लिन जति हतार भएको थियो, त्यत्ति नै स्वास्थ्य मन्त्री नियुक्त गरेर खोप लगाउने अभियानदेखि सम्भावित कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको रोकथामका लागि काम गर्न स्वास्थ्य मन्त्री नियुक्तिको लागि हतारिनु पर्ने थियो ।
गृह, अर्थ, ऊर्जा र कानुन मन्त्रीलाई सपथ गराएर प्रधानमन्त्रीको पदभार ग्रहण गरेका देउवाले औपचारिक रुपमा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तासाझेदार दलसँग संवाद गरेका छैनन् ।
आइतबार संसद बैठकमा पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै ‘सरकार पक्ष बोल्दैन, काम गरेर देखाउँछ’ भन्ने बताएका देउवाले स्वास्थ्य मन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् ।
सोमबारबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउने अभियान सुरु भएको छ । यसको अनुगमन र निरीक्षणमा प्रधानमन्त्री देउवा स्वयं निस्कनु परेको छ । विभागीय मन्त्रीको अभावमा प्रधानमन्त्री निरीक्षणमा निस्किएका हुन् । अहिले स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री देउवा स्वयंले हेरेका छन् ।
विभागीय मन्त्री नियुक्त गरेर कोरोनासँगको लडाइँलाई सशक्त र प्रभावकारी बनाउने समयमा स्वास्थ्य मन्त्रालयलाई नेतृत्वविहीन बनाउन नहुनेतर्फ प्रधानमन्त्री देउवा सचेत देखिएनन् ।
कोरोना संक्रमणको दोस्रो लहर नसकिँदै तेस्रो लहरको सम्भावनाबारे बहस भइरहँदा लामो समय स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन बनाउनु हुँदैन ।
कोरोना रोकथाम नियन्त्रण, खोप अभियान, खोप आयात, स्वास्थ्य साम्रगी खरिददेखि वितरण र व्यवस्थापनको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालयमा मन्त्री विहीन हुँदा महत्वपूर्ण निर्णय लिन असहज हुन्छ । यसतर्फ प्रधानमन्त्री देउवाको ध्यान जान जरुरी देखिन्छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक साता नपुग्दै प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर आफ्नो सरकारको रक्षा गरेका छन् । तर, कोरोनाबाट जनताको ज्यान बचाउने प्रमुख जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न भने चासो देखाएका छैनन् ।
