काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसद्लाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेपाल समूहका नेताहरु सहभागी नभएको सो बैठकले उनीहरुलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले माधवकुमार नेपाल, विरोध खतिवडा, मेटमणि चौधरी, गोपाल बम, भवानी खापुङ, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रेम आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुसेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पाकर्ण कायस्थ, निरा जैरु, पार्वती विसुंखे, हिराचन्द्र केसी र कृष्णलाल महर्जनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरु नेपाल समूहका मात्रै होइन ओली समूहका नेताहरु पनि हुन् ।
देउवा सरकारलाई विश्वासको मत दिएका दुवै समूहका नेताहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो । साथै बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमतिलाई अनुमोदन पनि गरेको छ ।
