काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दै गर्दा संसदमा आफ्नो पहिलो प्राथमिकता भनेको खोप हो भन्दै बोलेका थिए तर अहिले सम्म देउवा सरकारले स्वास्थ्यमन्त्री चयन गर्न सकेको छैन ।
शेरबहादुर देउवाको लागि अहिलेको अवस्थामा ठूलो चुनौती भनेको नै स्वास्थ्य मन्त्रालय हो । केपी शर्मा ओलीको सरकार स्वास्थ्यमन्त्रीका कारण विवादमा आउन परेको थियो जुन कुरालाई ध्यानमा राख्दै शेरबहादुर देउवा अहिले चनाखो भएका छन् । शेरबहादुर देउवाको हातमा स्वास्थ्यमन्त्रीमा दाबेदार नेताहरुको नाम फाइनल भएको छ तर कसलाई दिने भन्ने बारे केहि दिन मै निष्कर्ष निकाल्ने छन् ।
स्वास्थ्य मन्त्रालय माओवादी केन्द्रले माग गरिरहेको छ तर शेरबहादुर देउवाले यो मन्त्रालय कांग्रेस कै भागमा पारेका छन् । कांग्रेसबाटै मन्त्री हुने भएकाले प्रधानमन्त्री देउवाले संसदमा सरकारको पहिलो प्राथमिकतामा खोप रहेको बताएका थिए । स्वास्थ्य मन्त्रालय त कांग्रेसको भागमा राखे तर अब कसलाई मन्त्री बनाउने भन्नेमा दोधारमा छन् प्रधानमन्त्री देउवा ।
स्वास्थ्य मन्त्रीका लागि नेपाली कांग्रेसबाट गगन थापालाई बनाउन दबाब आईरहेको छ । गगन थापाले समेत अहिलेको समयमा स्वास्थ्यमन्त्री पाए आफ्नो खूबी देखाउन सक्ने भन्दै उत्साहित भएका छन् । गगन थापाले स्वास्थ्य मन्त्रालय नपाए अरु मन्त्रालयमा अहिले जान उत्साहित नभएको कुरा सभापति सामू व्यक्त गरिसकेका छन् ।
शेरबहादुर देउवाले भने गगन थापालाई स्वास्थ्य मन्त्रालय दिने सोचेका थिए तर महाधिवेसनलाई ध्यानमा राख्दै डा शशांक कोईरालालाई उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री बनाउने रणनीति बनाएका छन् । डा शशांक कोईराला आफै प्राध्यापक साथै मेडिकल डाक्टर पेशा गरेका भएकाले स्वास्थ्य मन्त्रालय मागेका छन् । शेरबहादुर देउवाले महाधिवेसनमा सभापतिमा नभिड्ने सर्त सहित उपप्रधान सहित स्वास्थ्य मन्त्रालय दिने योजना सुनाएका छन् ।
सशांक कोईरालाले भने अहिले कुनै निर्णय सुनाएका छैनन् । यो पटक मात्र सभापतिको लागि लड्ने निर्णय गरेका सशांकले आफू पछि हटेर शेखर कोईरालालाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्न सक्छन् ।
यदि शशांक कोईराला स्वास्थ्यमन्त्री हुने भएमा गगन थापालाई सूचना तथा संचार मन्त्रालय साथै सरकारको प्रवक्ताको रुपमा ल्याउने तयारी शेरबहादुर देउवाको रहेको छ । साथै विश्व प्रकाश शर्मालाई राजनीतिक सल्लाहकारको रुपमा राख्ने समेत चर्चा चलिरहेको छ ।
