काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
मंगलबार पूर्वप्रधानमन्त्री खनालसँगको टेलिफोन वार्ताको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले टेलिफोन वार्ताका क्रममा पूर्वप्रधानमन्त्री खनाललाई सो कुरा बताएका हुन्।
अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार पुगेका थिए ।
स्वास्थ्य समस्या देखिएपछि नेता खनाल गत असार ३ गते दिल्ली प्रस्थान गरेका थिए । उनको अहिले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।
