काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । उनले भिसा समस्याका कारण अन्तिम समयमा ‘द हन्ड्रेड’ खेल्न नपाउने भएका हुन् ।
आफुले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नपाएको बारे लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु हुँदैछ ।

सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो । आफु उक्त खेल खेल्न नपाएकोमा निराश भएको लामिछानेले सामाजिक सञ्जालमा बताएका छन् । उनले प्रशंसकसँग माफी पनि मागेका छन् ।
उनले लेखेका छन् – ‘म जुलाई ९ मा बेलायत आउँदा अध्यागमनमा कुनै समस्या भएन र सरकारले तोकेको क्वारेन्टिनमा नै बसेको थिएँ । जुलाई १८ को दिन, मेरो क्वारेन्टिन पूरा हुनुभन्दा २ दिनअघि मलाई ईसीबीबाट मेरो भिसा मान्य नभएको र सकेसम्म चाडो देश छोड्न भनियो । मैले लगातार ईसीबी अधिकारीसँग यसबारे कारण सोधिरहेको छु र सहि उत्तर पाइरहेको छैन । म बुझ्छु अवस्था बदलिन समय लाग्दैन, तर मेरो भिसा मान्य नहुनुको प्रष्ट कारण भने मैले पाउनुपर्छ ।’
