काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। जनता र पार्टीको आग्रहमा राजीनामा फिर्ता लिएको बताए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ माधवकुमार नेपालबाट उत्तराधिकारीको आश्वासन पाएसँगै भीम रावलले राजीनामा फिर्ता लिने निर्णयमा पुगेका हुन् ।
रावललाई अध्यक्ष ओलीले आफ्नो उत्तराधिकारी बन्ने अफर गरेका एमालेका एक नेताले बताए । एमालेको भावी अध्यक्षताको भूमिका निर्वाह गर्न सक्ने क्षमताका नेता आफ्नो समूहमा नदेखेको भन्दै अध्यक्ष ओलीले रावललाई उक्त आश्वासन दिएका हुन् ।
भीम रावलको जोशले पार्टीलाई अघि लान मद्दत पुग्ने भन्दै उत्तराधिकारीको अफर गरेको स्रोतको दाबी छ । उत्तराधिकारीको अफर गर्दै रावललाई ओलीले भने, “यसबारेमा तपाईं सोच्नुस् र हामी फेरि भेटेर सल्लाह गरौंला । तर, तपाई अब दोश्रो पुस्ताबाट अध्यक्षको लागि अघि बढाउन म तयार छु ।“
ओलीले उत्तराधिकारीको अफर गर्दैगर्दा नेपाल समूह छोडेर आफूलाई सहयोग गर्न ओलीले रावललाई आग्रह नगरेको नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक नेताले जानकारी दिए । अध्यक्ष ओलीको प्रस्तावले हौसिँदै रावल बालुवाटारबाट निस्किएका थिए । तर, यस अफरलाई रावलले गोप्य राखे । र पार्टी एकताका लागि उनी सक्रिय भए ।
ओलीसँगको भेट पश्चात रावल केहि नरम भएका थिए र माधव नेपाललाई मिल्न समेत दबाब दिन थालेका थिए । जसअनुसार गत असार २७ गते कार्यदलमा १० बुँदे सहमति जुट्यो ।
वरिष्ठ नेता नेपालले १० बुँदे सहमति नस्वीकार्दा रावलले दबाब सृजना गरे । अध्यक्ष ओलीसँग मिलेर पार्टी एकतालाई बचाउन रावलले नेपालमाथि दबाब दिए । ओलीसँगको भेटपछि फेरिएको रावलको व्यवहारप्रति नेता नेपाल सशंकित मात्रै भएन, दूरी बढेको नेताहरु बताउँछन् ।
रावलले ओलीको प्रस्तावमाथि पूर्ण विश्वस्त हुन नसके पनि ओली विरुद्ध कडा रुपमा प्रस्तुत हुन सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले सांसद पदबाट राजीनामा दिएर दुवै समूहलाई चिढाउनबाट रोके । यता ओली समूहलाई रावल आफ्नो समूहमा आएको बुझे । झन् नेपाल समूहको बैठकमा नगएपछि रावल ओली समूहमा गएको सबैले लख काटे ।
तर, टोखास्थित रावलकै निवासमा पुगे नेता नेपालले उनलाई भेटे । यसपछि रावलले अध्यक्ष ओलीबाट आफूलाई उत्तराधिकारीको अफर आएको नेता नेपाललाई जानकारी गराएको स्रोतको भनाइ छ ।
त्यसपछि नेता नेपालले पनि हालसम्म आफूलाई साथ दिएको र अध्यक्ष ओलीको असंवैधानिक कदमविरुद्ध संघर्ष गरेको स्मरण गराउँदै आफूले एमालेको उत्तराधिकारीमा रावललाई देखेको बताए । अर्थात नेता नेपालले पनि आफ्नो समूहबाट एमालेको उत्तराधिकारीमा रावललाई नै प्रस्ताव गरे ।
एकैपटक ओली र नेपाल समूहबाट उत्तराधिकारीको अफर आएपछि रावल रनभूल्लमा परे । यसपछि ओलीको अफरलाई अस्वीकार गर्दै रावलले आफू नेपाल समूहबाट नबाहिरिने सार्वजनिक रुपमा बताए । जसअनुसार ६ दिनअघि सांसद पदबाट दिएको राजीनामा शुक्रबार रावलले फिर्ता लिए ।
