काठमाडौं । सत्ताच्यूत भएपछि भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा बसिरहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो झट्का लाग्ने गरी वर्तमान सरकारले निर्णय गर्दैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले केही दिनमै महत्वपूर्ण निर्णय लिने तयारी गरेको छ । एमाले अध्यक्ष ओलीलाई सत्ताच्यूत गर्न अहोरात्र खटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादवसँगको परामर्शपछि प्रधानमन्त्री देउवाले मुलुकभरकै प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गर्दैछन् ।
ओली सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखलाई बर्खास्त गरेर देउवा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो ।
गत बिहीबार नै निर्णय गर्ने तयारी गरेका प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध नेताहरुसँग परामर्श गरेर निर्णय लिनु उपयुक्त हुने भएपछि रोकिएको थियो । शनिबार गठबन्धनको बैठक बसेको छ ।
देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुख बर्खास्त गरेर ओली सरकारले केही प्रदेश प्रमुख नियुक्त गरेका थिए । अब यसको बदला लिँदै फेरि सत्तामा आइपुगेका देउवाले ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्ने तयारी गरेका हुन् ।
केही दिन अघि देउवा सरकारले ११ जना राजदूतको नियुक्ति रोकिएदिएको छ । उनीहरुलाई पूर्ववर्ती ओली सरकारले नियुक्त गरेका थिए ।
पूर्ववर्ती सरकारका राजनीतिक नियुक्त नयाँ सरकारले उल्टाउने नेपाली राजनीतिक संस्कारको रुपमा विकास हुँदै गएको छ ।
