काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रण नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । यही साउन ३ गते संसदबाट विश्वासको मत लिँदा प्रधानमन्त्री देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपयोगी रहेको खोपको व्यवस्था गर्ने बताए ।
कोरोनाविरुद्धको खोप ल्याउने र नागरिकलाई लगाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताएका प्रधानमन्त्री देउवाले अझैसम्म स्वास्थ्यमन्त्री भने नियुक्त गर्न सकेका छैनन् । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले दुई हप्ता पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
विश्वको ध्यान कोरोनाभाइरस संक्रमण नियन्त्रण र बिग्रँदो अर्थतन्त्रको सुधारमा केन्द्रीत छ । र नेपालले अहिले कोरोना नियन्त्रण, मुलुकको अर्थतन्त्र र नागरिकको आर्थिक अवस्था सुधारमै ध्यान दिनुपर्ने हो ।
आफूले प्रधानमन्त्रीमा पदभार ग्रहण गरेकै दिन अर्थमन्त्री नियुक्त गरे पनि देउवाले अहिलेसम्म स्वास्थ्यमन्त्री भने नियुक्त गर्न सकेका छैनन् ।
विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय लिन स्वास्थ्य मन्त्रालयलाई समस्य हुने गर्छ । भारतमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको चेतावनी दिइएको छ । र यसको सामना गर्न तयारी थालिएको छ ।
नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको चेतावनी दिइएको छ । तर, कोरोनाभाइरस संक्रमण नियन्त्रणदेखि खोप व्यवस्थापनसम्मको काम गर्ने स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन छ ।
युद्धस्तरमा काम गर्नुपर्ने बेलामा स्वास्थ्यमन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले गरेको ढिलाइले स्वास्थ्यविद्हरु चिन्तित् बन्न थालेका छन् । एकैपटक मन्त्रिपरिषद्लाई विस्तार गरेर पूर्णता दिने गरी गठबन्धनमा छलफल भइरहेको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुसँग परामर्श गरिरहेका छन् ।
अरु मन्त्री नियुक्तिमा ढिलाइ भए पनि स्वास्थ्य मन्त्री नियुक्त गरेर युद्धस्तरमा काम गर्नुपर्ने अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धनलाई मनाउन सकिरहेका छैनन् ।
स्वास्थ्य मन्त्री ढिलाईबाट उत्पन्न समस्या र परीणामको अपजस प्रधानमन्त्री देउवा र उनको पार्टी कांग्रेस भागीदार हुने भएकाले अरु दलले त्यत्तिचासो दिएका छैनन् । स्वास्थ्यमन्त्री नियुक्तिको विषयमा प्रचण्ड र नेता नेपालले पनि गम्भीरतापूर्वक नलिएको देखिन्छ ।
