काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई हालसम्म पूर्णता दिन सकेका छैनन् । सत्ता सम्हालेको १५ दिन भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । साथै उनले आफ्नो सचिवालयसमेत बनाउन सकेका छैनन् ।
यस बेला प्रधानमन्त्री पत्नी आरजु राणाको अस्वभाविक रुपमा कूटनीतिक र प्रशासनिक सक्रियता बढ्न थालेको छ । देउवा सत्तामा रहँदा आरजु हावी हुने गरेको आरोप लाग्दै आएका बेला यसपटक पनि उनले आफ्नो सक्रियता बढाएकी हुन् ।
हालै ललितपुरको भिभान्ता होटेलमा आरजुले सरकारका केही सचिव, महत्वपूर्ण विभागका महानिर्देशकसहितका सरकारी अधिकारीहरुसँग डिनर मिटिङ गरेकी छन् । उनले ब्रिफिङ लिएको बताए पनि सहभागीहरुमाथि दबाब महसुस गराएको छ ।
प्रधानमन्त्री पत्नीबाट हुने चासोले प्रशासनिक क्षेत्रमा दबाब सृजना हुने बताइन्छ। राजनीतिक नियुक्तिदेखि सरुवा, बढुवामा आरजु हावी हुने र प्रधानमन्त्री देउवामाथि दबाब दिएर निर्णय गराउने गरेको यसअघि देउवा सरकारमा रहँदा आरजुमाथि आरोप लाग्ने गरेको छ ।
तर, त्यस आरोपलाई बल पुग्ने गरी मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै र प्रधानमन्त्रीको सचिवालय गठन नहुँदै आरजुको सक्रियता बढेको हो ।
