काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण हालै सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको उद्घाटन गर्दै अवलोकन गरेकी छिन् ।
उक्त सङ्ग्रहालयको २०७३ साल कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । युद्ध सङ्ग्रहालय नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको हो ।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ । तस्बिर – रासस
