काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहभागी भएका नेपाल समूहका नेता डा. विजय पौडेलले आफूहरु अहिले सरकारमा सहभागी नहुने जानकारी गराएका छन् ।
बिहान प्रधानमन्त्री देउवाको आह्वानमा बसेको बैठकमा कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, माआवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई, एमालेको नेपाल समूहका डा. पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए ।
सो बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम दिन आग्रह गरेपछि डा. पौडेलले आफूहरु तत्काल सरकारमा सहभागी हुन सक्ने जानकारी गराएका हुन् ।
पार्टी एकताका लागि प्रयास भइरहेकाले आफूहरु सरकारमा सहभागी नहुने गठबन्धनलाई नेपाल समूहले जानकारी गराएको हो । यद्यपि, गबन्धनमा शीर्षनेताहरुले माधवकुमार नेपालसँग पनि यसबारेमा कुराकानी गर्ने भएका छन् ।
