काठमाडौं । सरकारले आउँदो चैतसम्ममा सबै नागरिकलाई कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप लगाइसक्ने गरी तयारी गरेको जानकारी दिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आउँदो चैतसम्म सबै नेपालीलाई खोप लगाउने बताएको हो ।
यसका लागि विभिन्न खोप उत्पादक मुलुकबाट खोप ल्याउने कार्य भइरहेको जानकारी दिइएको छ । अहिलेसम्म भारतबाट अनुदानबाट १० लाख डोज खोप प्राप्त भएको र नेपाली सेनालाई एक लाख डोज खोप प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै भारतको सेरम इन्ष्टिच्यूटबाट खरिद गरेको १० लाख तथा कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कूल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।
यस्तै चीनबाट विभिन्न समयमा अनुदान र खरिद गरी ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको जानकारी दिएको मन्त्रालयले अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज ल्याइएकोसमेत गरी ९७ लाख ८२ हजार ८५० डोज प्राप्त भएर खोप अभियान सञ्चालन भइरहेको जानकारी दिएको छ ।
यस्तै चीनसँग ६० लाख डोज खोप खरिद सम्झौता अगाडि बढिसकेको मन्त्रालयको भनााइ छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।
१२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने समेत जनाइएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ ।
खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट (एचडीयू), १८० थान भेन्टिलेटर, बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढेको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

