काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था छ । गत निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षीमा बस्न जनमत प्राप्त भयो । जनमतका आधारमा कांग्रेस नेताहरु पाँच वर्ष सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताए ।
तर, सत्तारुढ नेकपा हुँदै एमालेसम्म आइपुग्दा सो दलभित्रको आन्तरिक किचलोले मुलुकको राजनीतिलाई अस्तव्यस्त बनायो । शान्त प्रतिपक्षी दल कांग्रेसलाई सत्ताको लालसमा फसायो । प्रधानमन्त्री ओलीका विवादास्पद कदमप्रति मौन बसेको कांग्रेसलाई एकाएक सत्ताको ललीपप देखाएर ओली सरकारविरुद्ध जाइलाग्ने एमाले र माओवादी केन्द्रले बनायो ।
अहिले पार्टीको वैधानिकता जोगाउने कार्यमा खटिनुपर्ने कांग्रेसलाई दैनिकजसो गठबन्धनको बैठक र अन्तरक्रियामा सहभागी गराएर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका माधवकुमार नेपालले अल्मल्याउन थालेको कांग्रेसका नेताहरुले बताउन थालेका छन् ।
विधानअनुसार कांग्रेसको महाधिवेशन गर्ने समय घर्किसकेको छ । संविधानअनुुसार पनि आउँदो भदौभित्रमा कांग्रेसले महाधिवेशन सम्पन्न गरेर वैधानिकता जोगाउनुपर्ने बाध्यकारी अवस्थामा छ । सोहीअनुसार भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीभित्र देखिएको क्रियाशील सदस्यसहितको विवाद समाधान गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यकारी दायित्व बोकेका सभापति शेरबहादुर देउवा दैनिकजसो गठबन्धनको बैठक र अन्तरक्रियामा सहभागी भइरहेका छन् ।
कम्युनिष्टको घरझगडामा सत्ताको लोभ देखाएर देउवालाई प्रचण्ड र माधवकुमार नेपालले अल्मल्याइरहेको कांग्रेस नेताहरुको टिप्पणी छ । महाधिवेशन आउन दुई महिना बाँकी रहेका बेला द्रुत गतिमा पार्टीको काम गर्नुपर्ने बेला ओलीलाई सत्ताच्यूत गराएर नयाँ सरकार बनाउने बाहनामा देउवालाई प्रचण्ड–नेपालले भुलाइरहेको नेताहरुको गुनासो छ ।
स्वयं देउवाले पनि आफूलाई कम्युनिष्टले कहाँ फसायो भन्दै गुनासो गर्न थालेका छन् । आफूनिकटवर्ती नेताहरुसँग देउवाले अब निकास चुनाव रहे पनि प्रचण्ड–नेपालले सत्ताको खेलमा आफूलाई कहाँ फसाए भन्दै गुनासो गर्न थालेका छन् ।
