काठमाडौं । सत्तारुढ नेकपा एमालेको एकता रक्षार्थ दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । संस्थापन पक्ष र असन्तुष्ट दुवै समूहका दोस्रो तह नेताहरु पार्टी एकतालाई जोगाउन सक्रिय भएका हुन् ।
सोही क्रममा दुवै समूहबाट वार्तामा रहेका नेताहरु असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मनाउन उनकै निवास कोटेश्वरमा पुुगेका छन् ।
सहमतिका लागि मस्यौतासमेत बनाइसकेका उनीहरुले संयुक्त रुपमा नेता नेपाललाई ब्रिफिङ गराउन नेपाल निवास कोटेश्वर पुुगेका हुन् ।
यसअघि नेता नेपाललाई भइरहेका वार्ता र उपलब्धीकाबारे आफ्नै समूहका नेताहरुले मात्रै जानकारी गराउँदै आएका थिए । तर, आइतबार भने दुवै समूहका नेताहरु एकैपटक उपस्थित भएर ब्रिफिङ गराएका हुन् ।
आइतबार संस्थापन ओली समूहका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ नेपाललाई मनाउन गएका छन् ।
गत शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता नलिएमा एकताको औचित्य समाप्त हुने बताएका थिए ।
तर, पार्टी एकताको रक्षाका लागि दुवै समूहका नेताहरु भने सक्रिय भइरहेका हुन् । शनिबार अध्यक्ष ओली र नेता नेपालबीच पनि कुराकानी भएको थियो ।
वार्तामा ओली समूहबाट बिष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुँदै आएका छन् भने प्रदीप ज्ञवाली र बिष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् । यस्तै नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुँदै आएका छन् ।
