काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । आइतवार साझँ अध्यक्ष ओलीलाई भेट गर्न रावल बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीले बोलाएपछि रावल बालुवाटार पुगेको बताइएको छ ।
पछिल्लो समय पार्टी भित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु अघि सरेका छन् । आइतबार ओलीसँग वार्ता गर्नको लागि उनी पक्षका नेताहरु बरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गर्न कोटेश्वरमा पुगेका थिए ।
उनीहरुले दुवैले संयुक्त वक्तव्य निकालेर एकता सन्देश दिन आग्रह गरेका थिए । उक्त प्रस्तावलाई नेता नेपालले स्वीकार पनि गरे ।
ओली समूहबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले अध्यक्ष ओली र नेता नेपालबाट संयुक्त वक्तव्य जारी गरेर एमाले एकताबद्ध रहेको सन्देश प्रवाह गर्न आग्रह गरेका हुन् ।
उक्त प्रस्तावलाई स्वीकार्दै नेता नेपालले कार्यदलबाट ड्राफ्ट बनाएर ल्याउन भने । तर अहिले कार्यदल निस्क्रिय रहेको जवाफ दिएका ओली समूहका नेताहरुले कार्यदल व्यूँताउन पनि अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता आवश्यक रहेको जानकारी गराए ।
