रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ३ धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा आइतबार साँझ एक युवतीको पूर्णरुपमा गलेको अवस्थामा शव फेला परेको छ ।
यही असार ११ गते शुक्रबार बिहान घरबाटै हराएकी सोही वडाकी सुजिता भण्डारीको शव भएको अनुमान गरिए पनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन । शव पहिचानको लागि घटनास्थल पुगेका आफन्तले शव सुजिताकै रहेको भनी रोएर फर्किएको वडा नं ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
दस दिनअघि घरबाट बिहान साढे ५ बजे तरकारी किन्न निस्किएकी सुजिता परिवारको सम्पर्कमा आएकी थिइनन् । सुजिताको घरबाट तीन किलोमिटर धमिली र धमिलीबाट आधा घन्टा पैदल हिँडेपछि घटनास्थलमा पुगिन्छ ।
सामुदायिक वनमा शव फेला परेको जानकारी पाएपछि प्रहरीको टोली त्यसतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले राप्तीमा एक जना युवतीको शव फेला परेको तर पहिचान भइनसकेको बताए ।
असार ११ गते बिहान घरबाट निस्किएकी सुजिताले मध्यान्ह १२ः१५ बजे दिदी कवितालाई फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी थिइन् । अतालिएर फोन गरेको आधारमा परिवारले सुजिताको अपहरण भएको बताएका थिए । सुजिताको खोजीको लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो ।
