काठमाडौं । सत्तारुढ नेकपा एमाले विवाद समाधान उन्मुख भइरहँदा विपक्षी गठबन्धनको उद्देश्य संकटमा परेको छ । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदच्यूत गराउन कांग्रेस, माओवादीसहितको विपक्षी गठबन्धन बनेको हो ।
यो गठबन्धनमा एमालेको माधवकुमार नेपाल समूह पनि आवद्ध छ । उसले आफ्ना अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन नगरेर देउवालाई गरेको थियो । देउवालाई प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहका २३ सांसदले राष्ट्रपतिसमक्ष र सर्वाेच्च अदालतमा हस्ताक्षर बुझाएका छन् ।
तर, ‘रात रहे अग्राख पलाउँछ’ भने जस्तै विपक्षी गठबन्धनमा रहेर आफ्नै पार्टी र अध्यक्षविरुद्ध राजनीतिक गतिविधि गरिरहेको एमालेको नेपाल समूह अब कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग नगर्ने अवस्थामा पुगेको छ ।
एमालेको आन्तरिक विवाद समाधानका क्रममा लचकता अपनाउन नेपाल समूह देउवालाई प्रधानमन्त्री बनाउन असहयोग गर्न लगभग सहमतिमा पुगेको छ ।
एमालेको विवाद समाधान पहलका लागि गठित संयुक्त कार्यदलको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन सहयोग नगर्न सहमत भएका छन् र यसमा नेता माधवकुमार नेपाल पनि लगभग सहमत रहेको नेताहरु बताउँछन् ।
अध्यक्ष ओली र नेता नेपालबी शक्ति बाँटफाँट गरेर अघि बढ्ने मौखिक सहमतिमा पुगेका छन् । उनीहरुबीचको उक्त अलिखित सहमतिपछि कार्यदललाई विवाद टुंग्याउन सहज भएको र बिहीबार बेलुका बस्ने बैठकले सहमतिको निर्णय गर्ने नेताहरुले बताएका छन् ।
कुनै परिस्थितिमा देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भए पनि अब राजनीतिक कोर्ष परिवर्तन भएकाले आफ्नै पार्टीका नेतालाई समर्थन गर्नुपर्ने निष्कर्ष नेपाल समूह पुगेको छ । यसर्थ देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता नहुने भए पनि अब थप समर्थन र सहयोग नगर्ने पक्षमा नेपाल समूह पुगेको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर कानुनी प्रक्रियामा अघि बढेको र अब अदालतबाट आउने फैसलापछि विकसित राजनीतिक घटनाक्रममा देउवालाई नभएर ओलीलाई समर्थन गर्न नेपाल समूह सहमत देखिएको छ ।
