अबिरल वर्षको कारण देशका विभन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको करिब २ अर्बको दाबी परेको बीमा समितिले जनाएको छ । नेपालमा सञ्चालित २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट क्षतिपूर्ति बापत सो बराबरको माग दाबी भएको हो ।
बीमा समितिको तथ्यांक अनुसार अबिरल वर्ष शुरु भएदेखि असार २३ गते सम्ममा ३३१ वटा दाबी वापत १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको माग दाबी परेको छ । सम्पत्ती बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनीयरिङ्ग बीमा र विविध बीमा अन्तरगत ३३१ वटा दाबी परेका हुन् ।
कुल बीमा माग दाबीमध्ये १४१ वटा सम्पत्तीको बीमा मागदाबी ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख, ५ सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको ३८ लाख ५९ हजार र विविध तर्फ २ वटा बीमाको १ करोड ५५ लाख रुपैयाँ बराबरको माग दाबी परेको बीमा समितिले जनाएको छ ।
यसैगरी इन्जियनीयरिङ्ग बीमा तर्फ बाढी पहिरोबाट क्षति भएका १०७ वटा निर्माणाधीन आयोजना बीमाको माग दाबी ९० करोड ७ लाख, आठ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको १ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
