काठमाडौं । अमेरिकाले नेपलालाई चाँडै खोप उपलब्ध गराउने गरी तयारी थालिएको छ । नेपाललाई खोप उपलब्ध गराउने गरी अमेरिकाले नेपाल सरकार र कोभ्याक्ससँग काम सुरु गरेको बीबीसीले जनाएको छ ।
सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप उपलब्ध गराउन कानुनी र बन्दोबस्तीका चुनौती सम्बोधन गर्ने गरी अमेरिकाले काम गरिरहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाले उपलब्ध गराउने खोप कति मात्रामा आउने स्पष्ट नपारिए पनि यसअघि नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताइएको थियो ।
गत जून महिनामा अमेरिकी सरकारले नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५÷२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो।
जोनसोन एन्ड जोनसनको खोप नेपालले प्राप्त गर्ने भनिए पनि मात्रा भने खुलाइएको छैन । एक डोज लगाउँदा हुने जोनसोन एन्ड जोनसनको खोप अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको हो । विश्वव्यापी खोप अभियान कोभ्याक्समार्फत् उक्त खोप नेपाललाई दिने भनिएको छ।
नेपालले हालसम्म भारत र चीनबाट खरिद गरेको सहित ४२ लाख ४८ हजार मात्रा खोप भित्र्याएको छ।बुधवारसम्ममा २६ लाख ११ हजार ८०७ नेपालीले पहिलो मात्रा खोप र ८ लाख ५१ हजार ३०० नेपालीले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
