काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिहीबार बेलायत जाँदैछन् ।
सो प्रतियोगिता खेल्न उनी बिहीबार राति टर्कीस एयरलाइन्समार्फत बेलायत प्रस्थान गर्न लागेका हुन् ।
बेलायत पुगेसँगै उनी १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । सो अवधिमा दुई पटक पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र सन्दीपले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । सन्दीप सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।
सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको छ ।
