काठमाडौं – चिकित्सा शिक्षा आयोगका सदस्य डा. भोजराज अधिकारीले झापामा रहेको बिएण्डसी मेडिकल कलेज अनुगमनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको मुद्दामा साक्षी बसेका अधिकारीले बुधबार निवेदन दिँदै बिएण्डसीको अनुगमन समिति आफुले छाडेको जानकारी दिएका हुन् ।
आयोगका उपाध्यक्ष गिरीले गठन गरेको तीन सदस्यीय समितिमा रहेका उनले कार्यकारी समितिलाई सम्बोधन गर्दै अनुगमनमा भएका काममा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
उनले निवेदनमा भनेका छन् – ‘ पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत मेरो नाम जोडिएकाले नैतिकताको आधारमा सो अनुगमन टोलीबाट भए गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु’
बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र उपाध्यक्ष गिरीको गाली बेइजती मुद्दामा अधिकारी गिरीतर्फबाट साक्षी बसेका थिए ।
बिएण्डसी मेडिकल कलेजमा अनुगमनका गर्न आयोगले असार १ गते टोली गठन भएको थियो । उक्त टोली अनुगमनको लागि असार ६ गते बिएण्डसी पुगेर ८ गते फर्किएको थियो। प्रतिवेदनलाई अन्तिम रूप दिने बेलामा नै अधिकारी गिरीको मुद्दामा साक्षी बसेको थाहाँ भएको थियो ।
अनुगमन गर्न गएको टोलीले प्रतिवेदन नै नबुझाउने भएपछि आयोगका उपाध्यक्ष गिरी अफ्ठ्यारोमा परेको छ । यस बिषयमा छलफल गर्न शनिवार कार्यकारी समितिको बैठक बस्दैछ ।

