माघ महिनाको मुटु नै फुट्लाजस्तो सिरेटो। मौसमीले जाडोले लगलग काम्दै राति ओछ्यानबाट हराएको कपडा खोजी। रातको पहिलो प्रहरमा श्रीमानले अँगालोमा कसेर स्वार्थ पूर्तिका लागि बोलेका शब्दहरू बारम्बार उसका कानमा ठोक्किए ।
हिजो राति उसलाई बेस्सरी थकाई लागेको थियो । मन भरुन्जेल निदाउन चाहन्थी । तर उसको श्रीमानले उसलाई निदाउन दिएन। उसले धेरै पटक कोसिस गरी तर, सकिन।
उसलाई रातभरि निद्रा लागेन। अनिदो आँखासँगै उसले सोची, आफ्नो जवानीको आवेग शान्त पार्न यो जड्याहा लोग्नेमान्छेलाई जिउँदो स्त्री नै चाहिने हो कि होइन ..?
उसले सोची, के स्त्री र पुरूषको सम्बन्ध केवल बास्ना परिपूर्तिबाहेक अरू पनि हुन सक्दैन र ?
घडी हेरी रातको २ बजेछ। कोल्टे फेरि निद्रा लागेन। उठेर चिसो पानीले मुख भिजाई। ऊ निरन्तर दस वर्षदेखि यो घरमा छे। उसको श्रीमानले दस वर्ष नै भयो यस्तै माया गर्दै आएको। उसले कुनै दिन सुखको अनुभूति गर्न पाएकी छैन। ऊ चाहन्छे, प्रेम प्रेमसँग मिलोस्। हृदय- हृदयसँग मिसियोस्। प्राण-प्राणसँग मिसियोस् र आनन्दको अनुभूतिले सृष्टिको आदिम स्थितिमा पुगेर यौनले आदर्श शरीरको रूपमा धारण गरोस्।
तर यो उसको कोरो कल्पना मात्र हो। मानौं, यौन र यौन सन्तृष्टि उसको कुनै हक छैन। यौन त केवल उसको श्रीमानको इच्छा, काम र अधिकार हो।
विना अवरोध उसको श्रीमानको इच्छा परिपूर्ति गरिदिनुबाहेक यौनमा उसको कुनै प्रयोजन र अधिकार छैन।
सोच्दासोच्दै बिहानको चार बजेछ।
उसले श्रीमान र घरका मान्छे उठ्नुभन्दा पहिले आफूभन्दा ठूला दुःखको पहाड उचाल्नु छ। मौसमी चाहेर पनि पारिवारिक जंजाल र साधारण गृहणीभन्दा माथि उठ्न सकेकी छैन।
बाहिर बेस्सरी चिसो थियो। छरपष्ट छरिएका कपडा सम्हाल्दै मौसमीले सोची, के रातभरका लागि मात्रै हो श्रीमानसँगको सम्बन्ध ? एउटा मासुको डल्लोभन्दा माथि उठेर प्रेम गर्ने हैसियत छैन र उसको ?
श्रीमानको छातीमा टाँसिएर दुखसुखको कुरा गर्ने अधिकार बाँकी छैन र ? कहाँ छ यो घरमा उसको उचाइ र महत्व ?
ब्राको हूक लगाउँदै श्रीमानको अनुहारमा हेरी। ऊ मस्त निद्रामा थियो। सायद पुरूषहरूले स्त्रीहरूको कपडा लगाइदिँदा भन्दा नङ्ग्याउनमै बढी आनन्द लिन्छन् होला। त्यसैले त होला उसको श्रीमानले राति आइलभ यू भन्दै खोलेका कपडाहरू आजसम्म लगाइदिएको याद छैन।
टाढाटाढा भाले बासेको आवाजबाहेक बाहिर हेर्दा चुक घोप्ट्याएजस्तै अँध्यारो थियो। मोबाइल बालेर आँगनीमा हेरी टन्नै तुषारो जमेछ। बाहिरको चिसो उसको श्वासप्रश्वासमार्फत् फोक्सोसम्म पुग्यो र पूरै शरीर चिसो भयो।
मौसमीलाई थाहा छ आज बेस्सरी चिसो छ। जति चिसो भए पनि काम नगरी बस्ने उसलाई सुख छैन। बाहिर जमेको तुषारो सबैले देख्छन्। तर उसको मनमा वर्षौंदेखि जमेको पीडाको महासागर न उसको श्रीमानले देख्यो, न छिमेक, न आफन्त न परिवारले देखे।
श्रीमानचाहिँ दिनभरि अफिसको काम छ भनेर हराउँछ तर सुत्ने बेलामा जहाँ भए पनि प्रेमको आलाप लगाउन आइपुग्छ।
टाढाटाढा हेरेर सोचिरही के मैले सोचेको र बाँच्न चाहेको जिन्दगी के यस्तै थियो त ? कोठाबाट बाहिर निस्कनु अगाडि उसले फेसबुक खोली। झसंग भई। आज उसको दशौं वर्षगाँठ रहेछ। कहालीलाग्दो दश वर्ष कसरी बिताई ऊ आफैंलाई थाहा छैन।
उसको देवरले फेसबुकमा वर्षगाँठको शुभकामना ! दिएर फोटो पोष्ट गरेछ। फोटो हेरेपछि उसलाई भक्कानो फुट्यो विवाहको दोस्रो दिन पञ्चरात फिराउन जाँदा खिचिएको फोटोमा ऊ निकै खुलेकी थिई। उसको शिरमा रातो सिन्दुर गलामा लामो तिलहरी र सिक्री थिए।
चार घन्टा अगाडि पोष्ट गरेको फोटोमा ६५ वटा कमेन्ट र १५५ वटा लाइक आइसकेछ। नाइस जोडी। सधैं मुस्कुराएर बाँच्नुस्। वर्षगाँठको शुभकामना ! लगायतका कमेन्टसँग अधिकांश तिमीलाई काका हुने अवसर कहिल्यै मिलेन है भनेर कमेन्ट गरेका थिए।
त्यो प्रश्नले फेरि उसको मुटुमा झिर रोपियो। आजसम्म आफ्नै मनलाई दिन नसकेको जवाफ उसले दुनियाँलाई कसरी दिनु ?
टोलाएर बाहिरको दृश्य नियालीरही। बाहिर परेको तुषारो केही हदसम्म पग्लिएछ। तर उसका दुःखको पहाड खै कसरी पग्लिएला ?
एकनासले बाहिर हेरेर आफ्नो विगत सम्झिन थाली, घरकी कान्छी छोरी, दुःख अभाव र संघर्ष थाहा नपाई उसको बाल्यकाल बित्यो। ऊ सानी पुतलीजस्तै थिई। फूलजस्ता उसका रहरहरू थिए।
१८ वर्षमै प्लस टु पास गरी। प्लस टुको रिजल्ट आएको दिन बाबुसँग काठमाडौं गएर पढ्ने इच्छा जाहेर गरेकी थिई। त्यही दिन उसका बाबुले उसको विवाहको अन्तिम निर्णय सुनाएका थिए।
आफ्ना सबै खुसी र रहरहरूलाई तिलाञ्जली दिएर परिवारको खुसीका लागि बुटवलको धनी केटासँग मौसमीको विवाह भयो।
आफ्नो जन्मघर छोडी। अठार वर्ष बिताएको ओछ्यान छोडी। सबभन्दा बढी त माइतीघरमा उसकी आमाले गर्ने प्रेम र स्नेह छुटे।
पराइघरलाई आफ्नो बनाई। पराई ओछ्यानमा कपास बिछ्याई। रहर र खुसी हजार पटक भाँची। ऊ छोरीबाट श्रीमती, बुहारी, भाउजू, आन्टी बनी।
कहिल्यै नगरेका काम गर्न बानी पारी। संस्कार र समाज जानी। सासू, ससुरा, नन्द, आमाजू, भान्जाभान्जीलाई इज्जत गर्न सिकी।
चिया, खाजा, खाना बनाउने काममा ऊ अब्बल हुन थाली। मौसमीले त्यो घरको बुहारीमात्र नभएर उत्कृष्ट कामदारको उपमा पाई। श्रीमान, परिवार, आफन्त सबैलाई खुसी पार्ने कोसिस गर्दागर्दै उसले दुई वर्ष बितेको पत्तो पाइन।
एक शनिबार खाजा बोकेर मौसमी सासूको कोठामा प्रवेश गरी। उसको श्रीमान पनि त्यहीँ रहेछ।
खाजा समाउँदै मौसमीकी सासूले भनिन्, ‘अब त हजुरआमा बनाउने होला नि ? विवाह गरेको दुई वर्ष बितिसक्यो।’
ऊ लाजले केही बोल्न सकिनँ। श्रीमानको अनुहारमा हेरेर लजाई र रोमाञ्चित भएर बाहिर निस्की।
आफ्नो खाटमा गएर पल्टिई। उसमा डर, लाज र उत्साह एकैपटक देखियो। बच्चा शब्द निकै रमाइलो लाग्यो। शरीरमा कताकता काउकुती लाग्यो उसले पत्तो पाइन। श्रीमान र आफ्नो संयोजन मिलेको बच्चाको अनुहार कल्पना गरी।
अघिदेखि उसको श्रीमानले उसको हर्कत हेरिरहेको रहेछ। श्रीमान देखेपछि लजाएर हातले मुख छोपेर अर्कोतिर फर्किई।
उसलाई जीवनमा कहिल्यै नभएको आनन्द भयो। सोची यही होला खुसीको अन्तिम बिन्दु। दिनभरि ऊ रोमाञ्चित भएर साँझको प्रतीक्षा गर्न थाली।
आज उसले श्रीमानसँग भन्ने छे, ‘अब मलाई पूर्ण नारी हुने अधिकार दिनुस्। अझै परिपक्व र जिम्मेवारी बनाउनुस्। आफ्नो रगतको अंशलाई यो धर्तीम स्थान दिने सौभाग्य दिनुहोस्।’
साँझ पर्यो। उसको प्रतीक्षाको घडी पूरा भयो। सुत्ने बेलामा ऊ श्रीमानसँग टाँसिएर सुत्दै सासूआमाले भनेको सबै कुरा सुनाई। उत्तेजित हुँदै उसको श्रीमानले आफ्नो तातो सास उसँग मिलाउँदै ओठमा गहिरो चुम्बन गर्यो।
समय कहाँ एकनास हुन्थ्यो र ? उसको हर्ष र खुसी धेरै समय टिकेन।
बच्चाको आस गर्दागर्दै सात हिउँद खेर गए। उनीहरूको प्रेमको निशानी कहिल्यै मौसमीको पेटमा फक्रिन सकेन। बेलाबेलामा मौसमी निकै विचलित हुन्थी। मरुभूमिमा छट्पटाएको काकाकुलजस्तै । ऊ धरती हो धरतीमा बिरुवा नउम्रिने यो कसरी हुनसक्छ ? धरती कहिले पनि बाझो हुन सक्दैन।
कुहिएको र नपुंशक बिउबाहेक धरतीमा नउम्रिने कुनै बिउ छैन। धरती कहिल्यै र कुनै पनि हालतमा बाझो हुनै सक्दैन। ऊ एक सक्षम र परिपूर्ण बिरुवा उमार्नको लागि सक्षम छे तर खराबी बिउमै हुनुपर्छ। ऊ बेलाबेलामा सोच्ने गर्छे।
घर माइती, आफन्तले बच्चाको कुरा यसरी गर्थे कि मानौं, बच्चा नजन्माएर ऊ संसारकै सबभन्दा ठूलो अपराधी हो।
बिना बच्चा यो संसारमा उसको कुनै पनि अस्तित्व नै छैन। बिना बच्चा उसलाई संसारमा बाँच्ने कुनै अधिकार नै छैन या भनौं, बच्चा नजन्माउनाले नै ऊ सबभन्दा ठूलो अपराधी र घृणित पात्र हो।
यस्तो बेला ऊ सोच्ने गर्थी, के नारी बच्चा जन्माउने मेसिन मात्रै हो त ? बिना बच्चा नारीको आफ्नै अस्तित्व नै छैन र ? बच्चा आफ्नो खुसी र अनुकूलतामा जन्माउने हो कि समाज र आफन्तका लागि जन्माइदिने हो ?
के सन्तान भएरमात्रै सुख मिल्ने हो त ? सबै सन्तानले बुढेसकालमा पाल्छन् भन्ने ग्यारेन्टी छ र ? के सन्तान हुने हरेक आमा बाउ खुसी होलान् त ? नेपालमा लगभग प्रत्येक जिल्लामा दुई वटाको दरले वृद्धाश्रम रहेछन्।
ती त्यहाँ बस्ने सबै बुढाबुढी सन्तान नभएर मात्रै होला त ? सन्तानबिना पनि खुसी हुन सकिँदैन र ? छोरा जन्माउनका लागि कैयौं पाठपूजा गर्छन्, मन्दिर धाउँछन्। छोरा जन्मन्छ हुर्काउँछन्, बढाउँछन् अनि बुढेसकालमा आफैं घरबाट निस्कनुपर्ने बाध्यता कतिपय बाउआमाको छ भन्ने तर्कले आफ्नै मनलाई जित्न खोज्थी।
तर ऊ आफूले आफैंलाई त सम्झाउने असफल प्रयास गर्थी। तर आफन्ती छिमेकी र परिवारले यो कसरी बाँचिरहेकी छे। कस्तो अलच्छिनीलाई घरमा भित्र्याइएछ सायद बिहे नहुँदै विभिन्न औषधी खाएर बच्चा फालेकी थिई कि भन्नेजस्ता क्रूर र निर्घात प्रश्नले भने ऊ बेलाबेलामा विक्षिप्त हुन्थी।
के बच्चा जन्माउनुमा महिलाको मात्र भूमिका हुन्छ ? पुरूषको कुनै भूमिका हुँदैन र? किन मान्छेहरू बारम्बार बच्चा नहुँदा महिलामाथि नै प्रहार गर्छन् ? पुरूषमाथि गर्दैनन्, वा कम मात्रामा गर्छन्।
एकदिन ऊ नछुने भई। तल्लो पेट दुखेर झर्लाजस्तै भयो। रगतको ओइरो लागेर उठ्नै सकिन। एकमुठी तातोपानी तताएर दिने पनि कोही भएन।
उसकी सासू आएर भनिन्, ‘फेरि पनि नछुने भइस् व्याउनु न बोक्नु कस्तो जुनि पाइस् तैंले ! नातिको मुख पनि हेर्न नपाई मार्ने भई हामीलाई। पेटको तल्लो पाटो झर्ला जस्तो भएको थियो। तातोपानीको सट्टा उसले सासूको नमिठो बचन खाई।
बेलुका उसको श्रीमान् घर आयो। ऊ नछुने भएको थाहा पाइसकेछ। केही नबोली आफ्नो खाटमा गएर पल्टियो।
उसले सोची उसको श्रीमान् किन ऊसँग दुई शब्द बोल्दैन ? किन उसको पेटमा हात राखिदिएर थोरै पीडा कम गरिदिँदैन। के यो पनि प्रेम हो त ? हरेक रात उसँगको सहवास मात्रै प्रेम हो त ?
ऊ पीडामा दुखिरहेकी थिई। अरूले देख्लान् भनेर रोएकी मात्रै थिइन। तल्लो घरकी सारदा देउरानी उसलाई भेट्न आई। उसले पनि ऊ नछुने भएको थाहा पाइसकेकी छे।
भनी, ‘मौसमी फेरि महिनावारी भयौ है ? यो जुनीमा …’
मौसमी केही बोल्न सकिनँ।
मौसमीले आफू महिनावारी भएको स्पष्टीकरण कति जनालाई दिनू ? सबैले घाउमा नुनमात्र छर्किन्छन्। बच्चाको प्रश्न सुन्दासुन्दै ऊ थाकिसकेकी छे। तर पनि उसका घरपरिवार, आफन्त र छिमेकीले उक्त प्रश्न सोधेर थाकेका छैनन्।
स्वास्नी मान्छे भएर पनि पूर्ण स्वास्नी मान्छेझैं हुन पाएकी थिइन। गर्भ नबोकी ऊभित्रको स्त्रीत्व र मातृत्व खिया लागेर जाने भयो भनेर दुःख मनाउ गर्थी।
एकदिन श्रीमानलाई नजिक तान्दै भनी, ‘अब त अत्ति भयो। बरू दुवै जना हस्पिटल जाऊँ न कुनै उपाय निस्कन्छ कि ?’
श्रीमानले पुरूष अहंकार र पितृसत्ताको आडमा उसको हात झड्कार्दै भन्यो, ‘तिमी आफैं जाऊ न ममा कुनै कमजोरी र खराबी छैन।’
यो कत्रो अहंकार एउटा नारीलाई चाहेर पनि आमा बन्नबाट रोक्ने र उसैलाई दोषारोपण गर्ने यो चिन्तन कहिले अन्त्य होला ? मौसमी सम्झाउन खोज्दै थिई।
सिरकले मुख छोपेर सुत्यो।
उसले पनि उठाउने थप प्रयास गरिनँ। रातभरि रोएर समय कटाई।
श्रीमान बिहानै उठेर निस्क्यो। कता निस्केको हो उसले पनि भनेन मौसमीले पनि सोधिन।
दिउँसो यमुना मौसमीको घरमा आई टोलभरिका मानिसको महिलाको कुरा काटी। उसकी सासु आमाको कुरा गरी। आफन्तको कुरा गरी।
अन्तमा भनी, ‘हजुरको श्रीमानको अर्को विवाहको कुरा चलेको रैछ है ? कति मन दुखेको होला ?’ उसको कुराले मौसमीको मनमा भूकम्प आयो। तर यमुनालाई देखाउन चाहिन।
मौसमीले भनी, ‘मलाई केही गाह्रो परेको छैन। सामान्य कुरा हो।’
यमुनाले जिब्रो टोक्दै भनी, ‘यति ठूलो कुरा कति सामान्य रूपमा लिएको ?’
मौसमीले उसका कुरामा धेरै ध्यान दिन उचित नठानेर भनी, ‘आज मेरो काम छ। कुनै दिन बसौंला।’
यमुना फनफनिँदै सासूको कोठातिर लागी। मौसमीले कुनै प्रतिक्रिया जनाइन।
सौता मुटुको बह हो। बाहिर सामान्य देखिए पनि भित्र उसलाई निकै कठिन भयो। तर सामान्य देखाउन प्रयास गरिरही।
आफूमाथि सौता हाल्ने कुराले उसको मुटुले ठाउँ छोड्यो। तर पनि आफूलाई सामान्य जस्तो बनाउन खोजी। तर पनि उसको मनमा कताकता चिसो भने पसेको थियो।
उसले आफ्नो मुटु बह पोख्ने ठाउँ देखिन। एकपटक फेरि आमालाई फोन गरेर सबै कुरा भन्न मन लाग्यो तर आँट आएन।
त्यसपछि उसको असामान्य जीवनशैली सुरू भयो। घरमा हुने ठूलाठूला निर्णयमा पनि उसलाई सहभागी गराएनन्। ऊ आफूलाई ज्यादै एक्ली र कमजोर महसुुस गर्न थाली। बाउले उसलाई विवाहको सट्टामा शिक्षा दिएको भए उसको जिन्दगी कति हराभरा हुने थियो होला त्यही सम्झेर भावुक भई। आफू सक्षम नहुँदा आफ्नो नाममा कुनै सम्पत्ति नभएको कारणले ऊ त्यो घर छोडेर कतै पनि जान नसक्ने भई।
काम चलाउने तरिकाले उनीहरूको सम्बन्ध चलिरहेको थियो। सामाजिक परिवेशमा एक अर्कालाई श्रीमानश्रीमती रूपमा स्वीकारेका मात्र थिए।
श्रीमानसँग रातको यौनक्रिडामा समर्पित हुनुबाहेक अरू कुराकानी बोलीचाली सबै बन्द भइसकेको थियो। उसले धेरै पटक श्रीमानसँग बच्चाको विषयमा कुरा गरी। श्रीमानले कुनै पनि प्रतिक्रिया दिएन।
यो समाज पित्तृसत्ताको ज्वरोमा कति गाडिएको छ उसले बुझ्ने अवसर पाई। यो कस्तो समाज हो बच्चा चाहँदाचाहँदै बच्चा नभएपछि सम्पूर्ण दोष महिलालाई नै दिएर एउटी महिलालाई घोचिरहने ? पटकपटक प्रहार गर्ने। बेज्जत र अपमान गरिरहने। के समाजमा बच्चा नभएकी महिलाले बाँच्न पनि नपाउने ? उसको व्यक्तिगत जीवन हुँदैन ? यो कस्तो समाज हो एउटी महिलाको पीडा नबुझ्ने ? कस्ता नारी हुन् अर्की नारीको दुःख नबुझ्ने ?
छोरालाई कहिल्यै बच्चाको बारेमा नसोध्ने सासूले किन हरेक पटक बुहारीमाथि बच्चाको प्रश्न गरिरहिन्छन्? के बच्चा जन्माउनुमा पुरूषको कुनै भूमिका हुँदैन र ? हैन भने किन बच्चाको विषय लिएर खाली माहिलामाथि नै प्रहार गरिरहन्छन्?
एउटा विवाहित महिला आमा बन्न कति ब्यग्र प्रतीक्षामा हुन्छे। त्यति पनि नबुझेर वा बुझ पचाएर एउटी नारीलाई बच्चाकै कुराले बारम्बार मानसिक तनाव दिएर के समाजको उद्देश्य आत्महत्यासम्म पुर्याउनु हो र ?
आधुनिक समाजमा कृत्रिम गर्भाधानबाट बच्चा जन्माउने धेरै उपाय छन् त्यो पनि मौसमीलाई थाहा नभएको होइन। तर त्यसको लागि पारिवारिक सहयोग र सद्भाव आवश्यक पर्छ जुन कुरा उसले परिवारबाट पाउने सम्भावना छैन। तर अब ऊ आफ्नो मातृत्व प्रेम, आमा बन्ने सपना र अधिकारलाई त्यतिकै मार्नेवाला छैन।
बच्चा नभएको भनेर एउटा पुरूषले फरकफरक केटीसँग बिहे गर्न सक्छ भने उसले कृत्रिम गर्भाधान गरेर बच्चा जन्माउन किन नपाउने ? अब ऊमा विद्रोही स्वभाव उत्पन्न हुन थालेको छ।
एउटा पुरूषले जति सहजै आफ्नो श्रीमतीबाट बच्चा भएन भने अर्को बिहे गर्छ के एउटी नारीलाई मेरो श्रीमानबाट बच्चा भएन भनेर बिहे गर्न त्यति सजिलो छ र ?
के त्यस्तो बिहेलाई समाजले सजिलै स्वीकार्छ र ?
यदि स्वीकार्दैन भने एउटी नारीलाई पुरूषको उपभोग्य साधनमात्र बनाउने र ऊ बच्चा जन्माउन सक्षम हुदाहुँदै पनि बच्चा नभएको सम्पूर्ण दोष नारीमाथि नै दिने र पुरूषलाई भने स्वतन्त्र छोड्दै सहजै अर्को कन्या केटीसँग विवाह गर्न स्वीकार दिने यो समाजको पितृसत्तात्मक र विभेदपूर्ण नियम मान्न ऊ तयार छैन।
