काठमाडौं – विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसी बार्सिलोना छाड्दा भावुक बनेका छन्। आफुले बार्सिलोना छाडेको जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा उनी रोएका छन् ।
अर्जेन्टिनी सुपर स्टार मेसीले पत्रकार सम्मेलनमा २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाए । उनले आफूले बार्सिलोना छाड्ने कहिल्यै कल्पना नगरेको पनि बताए ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अगस्त १५ मा ला लिगा सुरु हुनु अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताएका थिए । उनले क्लबमा आर्थिक समस्याका कारण मेसीसँग करार नवीकरण गर्ने सोचमा नरहेको पनि बताएका थिए ।
यता फ्रेन्च लिग वानको क्लब पिएसजीले भने मेसीको स्वागत गर्ने तयारी गरेको छ । पिएसजीले मेसी भित्राएको घोषणा गर्न पेरिसको आइफेल टावर भाडामा लिएको पनि बतायएको छ ।
पीएसजीले १० अगस्टका लागि ३ लाख युरो तिरेर टावर भाडामा लिएको बताएको छ । मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गर्न लागेको बताइएको छ । तर मेसी सँग भने पीएसजीको कुनै सम्झौता भएको छैन ।
