काठमाडौं । साविक नेकपा खारेज भएर एमाले ब्यूँतिएपछि पनि अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचकको परिचय बनाएका थिए, उपाध्यक्ष भीम रावलले ।
प्रतिनिधि सभा विघटनदेखि दलहरुको आन्तरिक निर्णयमा अध्यक्ष ओलीले कानुन र विधि मिचेको बारम्बार आरोप लगाइरहने रावल पछिल्लो समय संयम देखिन थालेका छन् ।
पार्टी एकताको बाहनामा तत्काली प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई गत असार २० गते सोमबार राति बालुवाटारमा भेटेर फर्किएपछि रावल नरम हुन थालेका एमालेका नेताहरु बताउँछन् ।
ओलीसँगको भेटपछि उनको नरम राजनीतिक व्यवहारलाई विभिन्न कोणबाट हेरिएको नेताहरु बताउँछन् । रावलसँगको भेटपछि भोलिपल्ट अध्यक्ष ओली पार्टी एकताका गठित कार्यदललाई ब्यूँताएका थिए ।
कार्यदलमा नेपाल समूहका संयोजक भीम रावल थिए भने संस्थापन ओली समूह संयोजक सुवास नेम्वाङ थिए । उक्त कार्यदल भएको १० बुँदे सहमतिलाई संस्थापन समूहको बैठकले अनुमोदन गरे पनि माधवकुमार नेपालले भने अस्वीकार गर्दै आएका छन् ।
असार २० गते राति अध्यक्ष ओलीसँगको भेटपछि पार्टी एकताका लागि क्रियाशील बनेका उपाध्यक्ष रावल त्यसयता अध्यक्ष ओलीमाथि कटाक्ष र आलोचना गर्न छाडेका छन् । उल्टै अध्यक्ष ओलीको तारिफ गर्न थालेर भक्तिभाव देखाउन थालेको ओली र नेपाल दुवै समूहका नेताहरु बताउन थालेका छन् ।
एकाएक उनको देखिएको फरकपनले नेपाल समूह सशंकित पनि बनेको छ । अध्यक्ष ओलीको क्रियाकलापबारे खुलेर विरोध गर्ने रावल असार तेस्रो हप्तादेखि शान्त देखिएपछि नेताहरु आश्चर्यचकित भएका छन् ।
