काठमाडौं – अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी फ्रेन्च लिग वानको क्लब पिएसजीमा अनुबन्धित भएपछि चर्चामा आइरहेका छन् । ३४ वर्षीय कप्तान मेसीले मंगलबार पिएसजीसँग २ वर्षका लागि सम्झौता गरेको थिए ।
उनी मंगलबार पेरिस पुगेर तीन वर्ष रहने विकल्प पनि करारमा सम्झौता गरेको बताइएको छ । मेसीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने गरी पिएसजीले अनुबन्ध गरेको हो । क्लबले मेसीलाई ३० नम्बरको जर्सी दिएको छ । बार्सिलोनामा १० नम्बर जर्सी लगएका मेसीले पिएसजीमा नेयमारको जर्सी खोस्न चाहेनन् ।
नेयमारले १० नम्बरको जर्सी मेसीलाई लगाउन भने पनि उक्त अफरलाई उनले अस्विकार गरिदिएका थिए। मेसीले शनिबार स्ट्रास्बर्गविरुद्ध डेब्यू गर्न सक्ने बताइएको छ ।
६ पटकको बालोन डी ओर जितेका मेसी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पिएसजीमा आएका थिए । बार्सिलोना हुँदा मेसीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए ।
