काठमाडौं – विद्रोही संगठन तालिवानले अफगानिस्तानका शहरहरु कब्जा गरेपछि नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिक सम्पर्कमा आउने आग्रह गरेको हो । विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपालीहरूको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरेको छ ।
मन्त्रालयले नेपाली नागरिकको उद्धार गर्नका लागि कार्यदल पनि गठन गरेको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उद्धारका कार्य गर्न कार्यालय गठन गरेको हो ।
विज्ञप्तिमा मन्त्रालयले मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन भएको जनाएको छ ।

