काठमाडौँ – अफगानिस्तानमा रहेका १ सय ३४ नेपाली सरकारको सम्पर्कमा आएका छन्। सोमबार १३४ नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
नेपाली सम्पर्कमा आएसँगै उद्धारमा सजिलो हुने प्रवक्ता लम्सालले बताएकी छिन् । उनका अनुसार उचित परिस्थिति बन्नासाथ अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार सुरु हुनेछ ।
सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धारगर्न र स्वदेश फर्काउने संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरिएको जनाइएको छ ।
आइतबार राति विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि विभिन्न देशहरुले आफ्ना नागरिक आफ्नो देश ल्याउने कार्य शुरु गरेका छन् । तालिवानीहरुले देश नै नियन्त्रणमा लिएपछि अफगानी नागरिकहरु पनि देश छाड्न थालेका छन् ।
