काठमाडौं : बागमती प्रदेशसभा बैठक मंगलवारका लागि आह्वान गरिएको छ । लामो समयदेखि स्थगित रहेको बैठक मंगलबार दिउसो २ बजेका लागि बोलाइएको हो ।
बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गर्नुभएको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो ।
यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गर्नुभएको थियो । बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।
प्रदेशसभा बैठक बस्नु अघि सोमबार अपराह्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ । समितिको बैठकमा मंगलबार हुने प्रदेशसभाको कार्यसूची, बैठकमा पेश हुने विधेयकका बारेमा छलफल भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । मंगलबारदेखि चल्ने प्रदेशसभा बैठकमा केही प्रदेश ऐन पेस हुने र प्रदेशसभा नियमावली संशोधन माथि छलफल हुने प्रवक्ता अमात्यले जानकारी दिनुभयो ।
