काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् ।
नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सधै गलत नै हुने बताएका छन् । उनले भने अध्यादेश ल्याउनु हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत
उनले हिजो केपी शर्मा ओली नेतृत्वले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नहुने बताएका छन् । गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नभएको नेता थापाले बताएका छन् ।
उनले लेखेका छन् – ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत 👎️हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। ‘
‘संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले अध्यादेश ल्याएपछि पार्टिभित्रै यसको विरोध गरिएको छ । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरेपछि सरकारले मंगलबार नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
