इटहरी– इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ ।
नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।
इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ ।
कार्यक्रममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको जानकारी दिनुभयो ।
