जनार्जन खत्री
सर्लाही, भदौ २ गते । सर्लाहीको रानिगन्जमा युवतीको शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
युवतीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्गमा नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका हुन् । प्रदर्शनका कारण बुधवार मध्यान्ह १२ बजेदेखि राजमार्ग अवरुद्ध छ ।
तीन दिनदेखि बेपत्ता हुनुभएकी लालबन्दी नगरपालिका–१७, रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मङ्गलवार राती मृत भेटिनु भएको थियो । रानिगन्जको डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रियंका साउन ३१ गते रातीदेखि घरबाटै बेपत्ता युवती मृत फेला पर्नुभएको हो ।
उहाँको शव घरदेखि करिव तीन किलोमिटर पर कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ । छोरी हराएको भन्दै खोजतलासका लागि बुवा राजनले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन दिनुभएको थियो ।
प्रहरीले खोजी गर्नेक्रममा प्रियंकाको हत्या भएको आशङ्कामा शङ्कास्पद दुई युवकलाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
युवती हराएदेखि गाउँका ती दुई युवक पनि बेपत्ता भएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा युवकहरूलाई मङ्गलवार दिउँसो महोत्तरीस्थित आफन्तको घरबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ । युवकहरूले नै मङ्गलवार राती युवतीको शव रहेको स्थान देखाएका हुन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले युवतीको कसरी मृत्यु भयो वा हत्या गरियो भन्ने विषयमा अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । मृतक युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा रहेको छ ।
सर्लाही युवती मृत्यु प्रकरण: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सर्लाही युवती मृत्यु प्रकरण: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया
