काठमाडौं | महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । हालै निर्वाचन आयोगमा दर्ता गरिएको यस पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता ठाकुर लगायतका नेताहरुबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले नेता ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाको उक्त आग्रहपछि नेता ठाकुरले सरकारलाई दिएको समर्थन कायम राख्ने बताएका थिए । भेटमा नेता ठाकुरले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा देउवालाई धन्यवाद पनि दिएका थिए ।
जनता समाजवादी पार्टी जसपा छोडेका नेता ठाकुर नयाँ पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सरकारमा जाने तयारीमा छन् । पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले पनि माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताएका थिए ।
