काठमाडौँ, भदौं ८-
आन्तरिक विवादमा फसेको नेकपा (एमाले) औपचारिक रुपमै विभाजित बनेको छ तर वैधता भने पाइसकेको छैन ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । भोलि बुधबार सो विषयमा निर्वाचन आयोगमा सनाखत हुँदैछ।
अध्यादेशको यो व्यवस्थापछि माधव समूहले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । नेता नेपालले संसदीय दल र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत पु¥याइने बताएका छन् । उनले मंगलबारमात्र पत्रकार सम्मेलन गरेर दुबैतर्फ आवश्यक संख्या पु¥याइने बताएका छन् ।
तर एमालेले भने माधव समूहलाई २० प्रतिशत संख्या पुग्न नदिन विभिन्न प्रयास गरिरहको छ । दल विभाजनमा नलागेकालाई कारबाही नगर्ने आव्हान गरेको एमालेले मंगलबार निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ ।
मंगलबार एमाले नेताहरू निर्वाचन आयोग पुगेर पार्टीले कारबाही गरेका १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन ध्यानाकर्षण गराएका छन् । एमाले केन्द्रीय सदस्य अग्नि खरेललगायतका नेताहरू आयोग पुगेका हुन् ।
उनीहरूले माधवकुमार नेपाललगायत १४ जनालाई नयाँ दल दर्ताको निवेदन दिनुअघि नै कारबाही गरिएको भन्दै उनीहरूले दल विभाजनमा हस्ताक्षर गर्न नपाउने जीकिर गरेका हुन् ।
माधव समूहले भदौ २ मा नयाँ दलका लागि आयोगमा निवेदन दिएको थियो भने नेता नेपाललगायत १४ जनालाई एमालेले भदौ १ मा कारबाही गरेको थियो । १४ जनालाई सांसद पदबाट मुक्त गर्नसमेत एमालेले संसद सचिवालयमा जानकारी गराएको छ । तर, उनीहरूको पदमुक्त गरिएको सूचना सचिवालयले टाँसेको छैन । यही विषयलाई लिएर एमाले सांसदहरूले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए ।
