काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिटलरजस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको बताएका छन् ।
बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले सो कुरा बताएका हुन् । उनले जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुने पनि बताए ।
उनले भने – ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौँ ।’
जसपाले ओलीको तानशाही सपना चकनाचूर पारेर संघीय लोकतान्तिक गणतन्त्रलाई दीगो बनाउने काम गरेको यादवले बताए । कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोंगी राष्ट्रवादको खोल ओढेको बताउदै यादवले त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगिएको बताए ।
फरक प्रशंगमा कुरा गर्दै यादवले निर्वाचन आयोगले पार्टीलाई आधिकारिता दिएको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको बताए । उनले भने – ‘रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन’
