काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य एक सातामै अल्पमतमा पर्नुभएको छ । माधवकुमार नेपाल समूहको साथ छोडेर नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएको मुख्यमन्त्री शाक्य एक सातामै राजनीतिक संकटमा पर्नुभएको हो । मन्त्री नियुक्त भएको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने देखिएको हो ।
मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त हुनुभएको थियो ।
तर मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गर्नुभएको छ । उहाँले पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधबार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गर्नुभएको थियो । यस्तै प्रदेश सभाका सदस्यसमेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलेले पनि एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गर्नुभएको छ । योसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ।
प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए । दुई जना खनाल र पाण्डेले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको हो ।
