बाँकेको खजुरास्थित सिमलघारीकी चन्द्रा बिक सुत्केरी बेथाले च्यापेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भइन्। उनले बुधबार छोरालाई जन्म दिइन्। जन्मदा उनको बच्चा ३ किलो ८ ग्रामका थियो।
invotech
बाँकेका प्रहरी प्रमुख एसपी स्याम कृष्ण अधिकारीले बिकको बच्चा अप्ठेरो अवस्थामा रहेकाले भ्याकुमले तानेर निकालिएको जानकारी अस्पताल प्रशासनले दिएको बताए। तर, उनको दिउँसो साढे दुई बजेतिर मृत्यु भयो।
अस्पतालबाट छोराको शव बुझेर बिक परिवारले अन्त्येष्टिका लागि खोला किनारमा पुर्याए।
अन्तिम संस्कारका लागि छोराको शरीरका कपडा खोल्ने क्रममा नर्सले लेखेको नाम फरक थियो। उनीहरूको छोराको हातमा ‘गंगा चौधरी’ भन्ने नाम लेखिएको थियो।
goodknightsanima box ad 2
त्यसपछि उनीहरु तत्कालै यो बच्चा आफ्नो छोरा नभएको निष्कर्षमा पुगे र शबको अन्तेष्टि नगरी अस्पताल पुगे।
अस्पतालमा यो शिशु आफ्नो छोरा नभएको र अस्पतालले बच्चा साटेको भन्दै आक्रोश ब्यक्त गरे। स्थिति तनाबग्रस्त बन्न पुग्यो। अस्पताल प्रशासनले खबर गरेपछि सुरक्षाको लागि एसपी अधिकारी आफैं त्यहाँ पुगे।
मध्यरातमै पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनबीच मृतक बच्चाको डिएनए टेष्ट गराएरै भए पनि उत्पन्न समस्या समाधान गर्ने सहमति भयो। त्यसका लागि बिहीबार बिहान फेरि छलफल गर्ने सम्झौता भयो। अहिले पनि छलफल जारी छ।
बाँके प्रहरी प्रमुख अधिकारीका अनुसार बर्दियाकी गंगा चौधरीले भदौ ९ गते भन्दा १० दिन पहिले छुट्टै अर्को अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्। उनको छोराको तौल ३ किलो ३ सय ग्राम छ। चौधरीका छोरा गम्भीर बिरामी भएपछि उनीहरूले पनि उपचारका लागि भेरी अस्पताल ल्याएका थिए। एनआइसियूमा राखेर उनको उपचार भइरहेको छ।
त्यही क्रममा अस्पतालमा कार्यरत नर्सले ट्याग लगाउँदा लापरबाही गरे। नवजात शुशुको एउटा हातमा चन्द्रा विक र अर्को हातमा गंगा चौधरी लेखिदिए।
‘संयोग कस्तो परेछ भने गंगा बिक लेखेको हातको ट्याग भित्र पट्टी फर्किए छ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर अभिभावकले आफ्नो मृतक छोराको एक हातमा चौधरीको ट्याग देखेपछि शव अन्त्येष्टि नगरी फर्काएर ल्याउनुभयो।’
अस्पतालमा कार्यरत नर्सको लापरबाही र गल्तीले गर्दा अस्पतालमा समस्या उत्पन्न भए पनि दश दिन पहिले जन्मेको चौधरीको बच्चाको सालनाल तथा तौलका आधारमा पहिचान गर्न कुनै कठिन नभएको तर्क अस्पताल प्रशासनले गर्ने गरेको छ।
‘दश दिनको बच्चा र सोही दिन जन्मेको बच्चाको सालनालबाट पनि बच्चाको पहिचान गर्न सकिन्छ भन्ने छ,’ एसपी अधिकारीले भने, ‘राति एक बजे नै अस्पताल प्रशासनले बच्चाको तौल गरेर देखाएको थियो।’
अस्पतालको रेकर्ड अनुसार दुबै बच्चाको तौल ठ्याक्कै भने जस्तै मिल्न गएको एसपी अधिकारीले सेतोपाटीलाई बताए ।
‘राति अस्पतालमा सबैका सामू यसो फर्काएर हेर्दा मृतक बच्चाको एउटा हातमा भित्र तिर चन्द्रा बिक नामसमेत लेखेको भेटियो,’ एसपी अधिकारले भने, ‘त्यसैले बच्चा बिककै रहेको र अस्पतालका नर्सले ट्याग लगाउँदा लापरबाही तथा गल्ती गरेको स्पष्ट हुनगयो।’
हाल अस्पतालको एनआइसियूमा राखेर उपचाररत अर्का बच्चाको दुबै हातमा गंगा चौधरी नै रहेको अधिकारीले जानकारी दिए।
‘बिक परिवारले होइन, ज्ँयूदो बच्चा हाम्रो हो र मरेको बच्चा हाम्रो हैन भन्ने दाबी गर्दै आउनु भएको छ, तर, त्यो पुष्टि हुने कुनै आधार देखिदैन,’ एसपी अधिकारीले भने, ‘उहाँहरूले हामीलाई हाम्रो ज्यूँदो बच्चा चाहियो भन्ने गर्नुहुन्छ, त्यो त सम्भव नै छैन।’
तै पनि पीडित परिवारको माग अनुसार मृतक बिकको डिएनए परीक्षण गर्न काठमाडौं पठाउने कि, के गर्ने? भन्ने बारेमा बिहीबार फेरि अस्पतालमै छलफल जारी रहेको एसपी अधिकारीले बताए।
