काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पार्टी सरकारमा जाने निकै चर्चा चलिरहेको छ । तर यसै पार्टीका अध्यक्ष ठाकुरले भने सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै कुरा नभएको बताएका छन् ।
शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सो कुरा छर्लङ्ग पारेका हुन् । उनले सरकारमा जाने कुरा प्रधानमन्त्री देउवाले बोलाए विचार गर्न सकिने बताए ।
‘प्रधानमन्त्रीजीसँग सामूहिक र अलग अलग भेट्या छौं । तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन,’ उनले भने,- ‘शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।’
सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पारे । चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनको संकेत रहेको थियो ।
मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि लोसपा प्रतिबद्ध
नवगठित लोसपा नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको जनाएको छ । शुक्रवार अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरेर भने ‘लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्ठाका साथ प्रतिवद्ध रहने छ ।’
ठाकुरले नेपालको जनताको विविधताको सम्मान, तीनलाई हरेक राजकीय क्षेत्रमा सहभागिताको समान अवसरले नै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सशक्त राष्ट्रिय एकताको एकमात्र आधार हो भन्ने तथ्यलाई लोसपाले आत्मसात गर्ने र आफ्नो यात्राको मूल लक्ष्य निर्धारित गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यप्रति पूर्ण प्रतिबद्धताका साथ उदित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थापनाको अवसरमा देशभरीका सम्पूर्ण लोकतन्त्रवादी, समानता, विविधता, समावेशिता पहिचान, सम्मानको निम्ति संघर्षरत उत्पीडित सबै क्षेत्र र वर्गको राज्य प्रणालीमा सहभागिता सहितको लोकल्याणकारी संघीय राज्यका समर्थक सबैबाट प्राप्त सहयोगको लागि हार्दिक आभार अभिव्यक्त गर्दछौं’
