काठमाडौं – नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताएका छन् । शुक्रबार चितवनको सौराहामा पत्रकारसँग कुराकानी गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् ।
पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताउदै पाण्डेले मूल विषयमा सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए । उनले भने आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न
पाण्डेले तत्कालिन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन कसैले पनि नउचालेको पनि दावी गरे। उनले भने – ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टी भित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णयहरु बदर गरेपछि हामी पार्टी भित्रै फर्कने वातावरण बनेको थियो ‘
उनले भने – ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’
पाण्डेले नेतृ रामकुमारी झाक्रीले आफूलगायतका नेताहरुलाई केपी ओलीको टाङमुनी छिर्यौ भनेको विषय ल्याउदै भने – ‘प्रश्न टाङमुनी छिर्ने या नछिर्ने भन्ने होइन, कतिपय हाम्रा बिमती होलान्, बिमतीको बीचमा हामीले एकता गर्नुपर्याछ, एकता गर्दागर्दै हामीबीच संघर्ष होला।’
