काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोनाविरुद्धको खोप नलगाएको बताएको छ । शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै सो कुरा स्पष्ट पारेको हो ।
सूचनामा मन्त्रालयले कोरोनाविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध पनि गरेको छ । यस्तै मन्त्रालयले म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने पनि बताएको छ ।
नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकिएको छ ।
