विश्वभर नै कोरोना महामारीको कारण चिन्ता, तनाव, डर लगायत मनोबैज्ञानिक समस्या बढेका छन् । यी मध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, ब्यबसायबाट बिस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको फिस तिर्न अप्ठ्यारो हुनु लगायतका समस्या हुँदा खाने बर्गमा छ भने हुनेखाने बर्गमा त्यो भन्दा ठूलो समस्या देखिएका छन् ।
आफ्नो ब्यबसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाब तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भबिष्यप्रति आशाबादी नहुने लगायतका मनोबैज्ञानिक समस्या देखापरेका छन् ।
दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् । लकडाउन भयो भने के खाने ? कसरी परिवार पाल्ने ? केटाकेटीको फि कसरी तिर्ने ? बिरामी भए कसरी उपचार गर्ने ? भाडा कसरी तिर्ने ? लगायतका चिन्ता धेरैजनामा छ ।
धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सधै रहने हो कि भन्ने चिन्ता हरेक बर्गमा बिध्यामान छ। बिकसित देशमा लकडाउन भएपनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘ सेल्फी राहत ‘ बाहेक केहि प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।
महामारीको अबधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने बर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन ।अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई ब्यबस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन। यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।
हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ –
– हरेक कुराको आयु हुन्छ । यो महामारीको पनि आयु छ । १-२ बर्षपछि महामारी सकिन्छ ।
– खोप अभियान चलिरहेको छ। खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने / मृत्यु हुने हुँदैन ।
– छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
– दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् । ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ । यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
– दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन्। अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
– मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन।
– महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । बिकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ जहाँ बसेपनि जोखिम हुनसक्छ ।
– अर्को बर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ।
– त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
– महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ | हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
– अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ। १ बर्षपछि हाम्रो रोजगारी तथा ब्यबसाय चल्नेछ | आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन । त्यसपछि हाम्रा हरेक ब्यबसाय चल्नेछन् ।
– कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
– विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
– धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ बैदेशिक रोजगारी बढ्नेछ ।
– महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
– नागरिकको कमाइ भएपछि बन्द भएका ब्यबसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
– यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को बर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
– अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।डा. रवीन्द्र पाण्डे
