काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले दिने जुनसुकै जिम्मेवारी निभाउन पनि आफू तयार रहेको बताएका छन् ।
मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । उनले पार्टीले ७० वर्षको मापदण्ड तय गरे त्यसलाई स्वीकार गर्न तयार रहेको पनि बताए ।
एमालेमा आफूहरुले गरेको विद्रोह अग्रगतिका निम्ति भएको बताउदै नेता खनालले एमाले अध्यक्ष केपी ओलीको दक्षिणपन्थी अवसरवाद र व्यक्ति अहंकारलाई तोड्न विद्रोह गर्नुपरेको बताए।
गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।
