काठमाडौं – मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध दलहरुबीचको छलफमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमती जुट्न सकेन । अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने गरी बैठक सकिएको एक नेताले बताए ।
एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी गर्ने भनिएको थियो । तर कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिल्दा छलफल विना निष्कर्ष टुङ्गिएको हो । माधव नेपालको नयाँ पार्टी बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइने भनिए पनि तुरुन्तै सहमती जुट्न सकेन ।
आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेका थिए ।
सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै अहिले देउवा नेतृत्वको सरकारको आलोचना भइरहेको छ ।
