काठमाडौँ । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ स्थित खाङदाङ माल बस्ने जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नता पुष्टि भएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सो घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको हो
मंगलबार साँझ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’
