उत्तर कोरियाले निकट छिमेकी चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन लिन अस्वीकार गरेको छ।
संयुक्त राष्ट्र संघका अनुसार उत्तर कोरियाले चीनबाट उपलब्ध हुने भनिएको करिब ३० लाख डोज कोरोना भ्याक्सिन अन्य देशलाई दिन भनेको हो।
समाचार अनुसार कोरोनाका कारण आफू भन्दा अन्य देशमा ठूलो समस्या देखिएर स्कट निम्तिएको अवस्थामा चीनले दिने भनेको उक्त भ्याक्सिन अन्यत्र नै पठाउन उत्तर कोरियाले भनेको हो।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी कार्यक्रम कोभ्याक्समार्फत उत्तर कोरियालाई सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो।
कोभ्याक्स कार्यक्रमको उद्देश्य विश्वका गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउनु रहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार १९ अगस्टसम्म उत्तर कोरियाले कोभिड-१९ का कुनै पनि मामिला दर्ता गराएको छैन।
विश्व स्वास्थ्य संगठनले आफ्नो साप्ताहिक रिपोर्टमा उत्तर कोरियाका ३७ हजार २९१ मानिसमा (जसमा स्वास्थ्यकर्मी र अन्य केही फ्लू जस्ता बिरामीको लक्षण देखिएको थियो) परीक्षण गरिएको थियो। तर यी सबै मानिसमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
उत्तर कोरियामा कोभिडको स्थितिबारे अहिलेसम्म धेरै प्रष्टसँग केही मामिला आएको छैन। त्यहाँ महामारी सुरु हुँदा नै कडा नियम लागु गरिएको थियो। पछिल्लो साल कोरोना महामारी शुरू हुँदा सिमाना बन्द गर्ने पहिलो देश उत्तर कोरिया नै भएको थियो।
उत्तर कोरियाले कोरोना भ्याक्सिन लिन अस्वीकार गरेको यो पहिलो मामिला भने होइन। यसअघि जुलाईमा सम्भावित दुष्प्रभावबारे चर्चा गर्दै उत्तर कोरिया एस्ट्राजेनेका भ्याक्सिनको करिब २० लाख डोज लिन अस्वीकार गरिदिएको थियो।
रुसका विदेश मन्त्री सर्गेई लावरोवले जुलाईमा सम्वाददाताहरुसँग रुसले कयौँ पटक आफ्नोमा बनेको स्पुतनिक भ्याक्सिन आपूर्ति गर्ने बताएको थियो।
उत्तर कोरियाले कोभिड-१९ खोप अभियानको प्रभावलाई लिएर शंका जनाइरहेको छ। उत्तर कोरियाको सरकारी मिडियाले अमेरिका र युरोपतिर बनेका भ्याक्सिनको नकारात्मक प्रभावबारेमा प्रमुखताका साथ समाचार छापिरहेको छ।
