काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । लामो समयबित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको बेला देउवाले अझै एक सातापछि मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।
अहिले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलिरहेका प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका कारण तुरुन्त मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने भएका हुन् । गठबन्धनका दलहरूको आन्तरिक अलमलले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको नेताहरुले बताएका छन् ।
मंगलबार बसेको गठबन्धनको बैठक पनि विना निष्कर्ष टुङ्गिएको थियो। एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी गर्ने भनिए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिल्दा सो बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने मन्त्रिपरिषद विस्तारमा के कारणले ढिलाई भएको भन्ने छर्लङग पारेका छन् । उनले मन्त्रालय भागबण्डामा विवाद नरहेको र यस बारेमा छलफल भइरहेको बताएका छन् । उनले केही प्राविधिक कुराहरू मात्र भएको र सो समाधानपछि मन्त्रिपरिषद विस्तार हुने बताए ।
